
वैशाख २४, दैलेख
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा गाउँ टोल र बस्तिमा विभिन्न प्रतिबद्धता गर्दै उम्मेदवारहरु घरदैलो गरिरहेका बेलामा दैलेखको भैरवी गाउँपालिकाका सचेत युवाहरुको समूहले पालिकाका उम्मेदवारहरुलाई कपाली तमसुक गराएका छन् ।
गाउँपालिकाका सचेत मतदाताले उम्मेदवार र आम नागरिकहरुको भेला गराए, भेलामा एमाले र माओवादीका उम्मेदवारहरु उपस्थिती भए, युवाहरुले कार्यक्रम गरेर प्रतिवद्धतासहित जनकरारपत्र तयार गरेको जानकारी दिए अनि उम्मेदवारहरुलाई औँठाछाप गर्न लगाए । समाजमा सुशासन हराउँदै गएको छ, भ्रष्टाचार बढेको छ, स्थानीय तहको विकासमा भन्दा आफन्त र उपभोक्ता समितिमा आफ्ना मान्छे बनाउने र विभिन्न बाहनामा प्रभावकारी काम नहुने जस्ता समस्याहरु समाधान गर्नकालागि जनकरार पत्र तयार गरिएको र सहिछाप गराएको स्थानीय अगुवा प्रसान्त सागर शर्माले जानकारी दिएका छन् ।
निर्वाचनमा होमिएका उम्मेदवारहरु नगरिकहरुप्रति जवाफदेही बनुन् भनेर यस्तो अभियान थालिएको गणेश प्रसाद न्यौपानेले जानकारी दिएका छन् । नेकपा एमालेका तर्फबाट अध्यक्षका प्रत्यासी सर्वराज महतारा, उपाध्यक्ष पदम कुमारी विष्ट, नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षका प्रत्यासी ऐन बहादुर कठायत र एकीकृत समाजवादी पार्टीबाट अध्यक्षका प्रत्यासी जगतप्रसाद आचार्य र उन्नत लोकतन्त्र पार्टीबाट मिलन ढुंगानाले औठाछाँप समेत गरेका छन् । नेपाली काँग्रेस कार्यक्रममा सहभागिता नभएको युवाहरुले जानकारी दिएका छन् ।
एमालेबाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार सर्वराज महताराले आफु पालिका अध्यक्ष पदमा विजयी भए आफ्नो कार्यकालभरी भ्रष्टाचार नगर्ने, जनघात गरी एक रुपैयाँ पनि नखाने, यदि खाएमा ‘बा–आमा’को रगत खाए सरह हुने उल्लेख गरेका छन् । गाउँपालिकामा हुने हरेक नियुक्ती स्पष्ट पारदर्शी गर्ने, स्वस्थ प्रतिस्पर्धाको आधारमा योग्य, अब्बल व्यक्तिलाई नियुक्ती गर्ने, गाउँ कार्यपालिकाको बैठक खुला ठाउँमा जनताको माझमा मिडियामा लाइभ गरी देश विदेशका भैरबी बासीहरुले अवलोकन, मूल्याङ्कन तथा सुझाव दिन सक्ने गरी सञ्चालन गर्ने उनको जनकरार पत्रमा उल्लेख गरिएको छ । तमसुकमा पार्टीको आधारभूत सिद्धान्तहरु श्रमिकको हक र सम्मानता, सुशासन र समृद्धि एवं मजदुर किसानहरुको वकालत तथा मुक्तीका साथै स्वर्गीय मदन भण्डारीको जनताको बहुदलिय जनवादलाई पूर्ण आत्मसात गर्दै भैरबीबासी मतदाताका समक्ष जनकरार पत्र गरेको उल्लेख छ ।
उनले गरेको जनकरारपत्रमा अध्यक्ष गाउँपालिकाको सेवा जनमुखी, सुलभ, सहज बनाउँदै कार्यपालिकामा सत्तापक्ष र प्रतिपक्षको परिकल्पना नभएको स्थानीय सरकारको संरचनालाई विना काम दलिय भागबण्डामा विभाजन हुन नदिने गरी जनतासमक्ष गरेको तमसुकमा सहिछाप परेका छन् ।
यस्तै, एमालेबाट गाउँपालिकाको उपाध्यक्ष पदका लागि उम्मेदवार बनेकी पदम कुमारी विष्टले अध्यक्ष महताराले गरेको जनकरार पत्रमा उल्लेख भएको सबै बुँदामा सहमत भएको भन्दै सहिछाप गरेकी छन् । उनले न्यायिक समितिमा रहेर कसैलाई पक्षपात गरेमा, योजना अनुगमनलाई फितलो बनाएर कमिशन खाएमा, जनअपेक्षा अनुसार काम गर्न नसकेमा आफुले गरेको जनकरार पत्रलाई आधार मानेर मतदाताले दिएको कारबाही भोग्न तयार रहेको उल्लेख गरेकी छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीबाट अध्यक्षका प्रत्यासी जगतप्रसाद आचार्यले पनि मतदाता समक्ष तमसुक गरेका छन् । उनले पनि गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएमा कार्यकालभरी नातावाद, कृपावाद, व्यक्तिगत स्वार्थलाई आफु र आफ्नो पदिय अधिकार भन्दा टाढा राखेर निस्वार्थ जनताको सेवामा खटिने उल्लेख गरेका छन् । आफ्नो कार्यकालभरी भ्रष्टाचार नगर्ने, जनघात गरी एक रुपैयाँ पनि नखाने, खाए भने त्यो आफ्नो लागि बाआमाको रगत खाए सरह हुने उल्लेख गरेका छन् ।
नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षका प्रत्यासी ऐनबहादुर कठायतले समेत सम्झौतापत्रमा सहीछाप गरेका छन् । सवैलाई एउटै प्रतिबद्धता राखिएको छ ।
यस्तै उन्नत लोकतन्त्र पार्टीबाट मिलन ढुंगानाद्धारा मतदाता समक्ष गरिएको तमसुक पत्रमा चुनावका क्रममा मतदातालाई प्रभावित गर्न एक रुपैयाँ पनि खर्च नगर्ने उल्लेख छ । अध्यक्षमा विजयी भएपछि पहिलो चरणमा बत्ति, पानी, स्वास्थ्य, शिक्षा र भूमिहिनहरुलाई आवास निर्देशिका बनाई निःशुल्क रुपमा उपलब्ध गराउने उनले गरेको तमसुक पत्रमा उल्लेख छ ।
नेकपा माओवादी केन्द्रको तर्फबाट गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेका ऐनबहादुर कठायतले जनकरार पत्र अर्थात जनताका सामु गरेको तमसुकले जनप्रतिनीधिलाई मनोमानी गर्नबाट पूर्ण रुपमा बन्देज गराएको बताए । ‘राजनीति सेवा हो, तर, राजनीतिलाई कमाउ धन्दाको रुपमा विकास हुन नदिन यसले सहयोग गर्छ,’ उनले भने ।
सवै पार्टीका चुनावमा होमिएका नेताहरुलाई सर्वपक्षीय रुपमा बोलाइएको भएपनि नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गराएका नेताहरुको उपस्थिती नभएको स्थानीय युवाले जानकारी दिएका छन् । हामीले सबै दलका उम्मेदवारका आकाँक्षीहरुलाई बोलाएका हौं । सार्वजनिक रुपमा जनताको सामु करारपत्र गर्ने कार्यक्रम हो भनेका थियौं तर नेपाली काँग्रेसका उम्मेदवारहरु नआउनुमा जनताप्रति गैर जिम्मेवारी हो भन्ने आफुहरुले बुझेका एक युवाले जानकारी दिएका छन् ।










